(१) ठेक्काको शर्त बमोजिम ठेकदारले नेपाल सरकारलाई बुझाउनुपर्ने रुपैयाँ गनी महसुल, गनी किस्ता वा किस्ताबन्दीमा बुझाउन कबूल गरेको भए, जति वर्षको लागि निजले सो ठेक्का पाएको हो, त्यति वर्षको दामासाहीले प्रत्येक वर्षको निमित्त बराबर पर्ने गरी सो बुझाउनु पर्ने रूपैयाँलाई किस्तामा बाँँडी वार्षिक किस्ता कायम गरी उपदफा (२) र (३) मा लेखिए बमोजिम बुझाउनु पर्छ । ठेकदारले सो उपदफाहरू बमोजिम बुझाउनु पर्ने पहिलो किस्ता नबुझाएसम्म रकम चलन गर्न पाइने छैन ।
(२) ठेकदारले ठेक्का बापतको रूपैयाँ गनी महसुलको रूपमा बुझाउन कबूल गरेको रहेछ भने उपदफा (१) बमोजिम कायम हुन आउने पहिलो वर्षको वार्षिक किस्ता निजको टेण्डर वा डाँक स्वीकृत भएको जनाउ निजले पाएका मितिले सात दिनभित्र र त्यसपछिको प्रत्येक वर्षको वार्षिक किस्ता सो वर्ष सुरु हुनुभन्दा कम्तीमा एक महिना अगाबै बुझाउनु पर्छ ।
(३) ठेकदारले ठेक्का वापतको रूपैयाँ गनी किस्ता वा किस्ताबन्दीको रूपमा बुझाउन कबूल गरेको रहेछ भने उपदफा (१) बमोजिम प्रत्येक वर्षको वार्षिक किस्ता बापत हुने रुपैयाँलाई ठेकदार नेपाली नागरिक भए, चार र गैर नेपाली नागरिक भए, तीन बराबर किस्तामा पुन विभाजित गरी पहिला वर्षको पहिलो किस्ता निजको टेण्डर वा डाँक स्वीकृत भएको जनाउ निजले पाएको मितिले सात दिनभित्र र त्यसपछिको प्रत्येक किस्ता देहायको म्यादभित्र बुझाउनुपर्छ –
(क) ठेक्का बापतको रूपैयाँ गनी किस्ताको रूपमा बुझाउने कबूल भएकोमा पहिलो वर्षको दोस्रो किस्ता र त्यसपछिको प्रत्येक किस्ता सो किस्ताको अवधि प्रारम्भ हुनुभन्दा कम्तीमा एक महीना अगावै र
(ख) ठेक्का बापतको रूपैयाँ किस्ताबन्दीको रूपमा बुझाउने कबूल भएकोमाः–
(१) ठेकदार नेपाली नागरिक भए, पहिलो वर्षको दोस्रो किस्ता पहिलो किस्ता बुझाएको मितिले पाँच महिनाभित्र र त्यसपछिको अन्य किस्ता अघिल्लो किस्ता बुझाएको मितिले तीन महिनाभित्र ।
(२) ठेकदार गैर–नेपाली नागरिक भए पहिलो वर्षको दोस्रो किस्ता पहिलो किस्ता बुझाएको सात महिनाभित्र र त्यसपछिका अन्य किस्ता अघिल्लो किस्ता बुझाएको मितिले चार महिनाभित्र ।
(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिला किस्ता र ठेक्का भुक्तान हुने अन्तिम किस्ता बाहेक अरु कुनै किस्ताको रूपैयाँ ठेकदारले सो उपदफाहरूमा लेखिएको म्यादभित्र दाखिल गर्न नसकी थप म्यादको माग गरेमा सो ठेक्का बन्दोवस्त गर्ने अधिकारी वा तोकिएको अधिकारीले बढीमा एक महिनासम्मको र नेपाल सरकारले बढीमा दुई महिनासम्मको म्याद थप दिन सक्नेछ र त्यसरी म्याद थप भएकोमा वार्षिक सयकडा दशका दरले सो थप भएको अवधिको सूद समेत लगाई ठेकदारले सो किस्ता बुझाउनु पर्छ ।
(५) उपदफा (४) बमोजिम ठेकदारलाई म्याद थप भएकोमा दफा १४ को उपदफा (१) बमोजिम जमानत लिएकोमा बाहेक जुन किस्ताका सम्बन्धमा म्याद थप भएको हो सो किस्ता र त्यस सम्बन्धमा सो उपदफा बमोजिमको सूद बापत ठेकदारबाट धन जमानी लिइनेछ । त्यस्तो धन जमानी ठेकदारले म्याद थप पाएको मितिले सात दिनभित्र ठेक्का बन्दोवस्त गर्ने अधिकारी वा तोकिएको अन्य कुनै अधिकारी छेउ दाखिल गर्नुपर्छ ।